Matthew 24

1ययेशू मन्दिरबाट बाहिर जानुभयो र उहाँ आफ्नो बाटोमा जाँदै हुनुहुन्थ्यो । उहाँलाई मन्दिरका भवनहरू देखाउन उहाँका चेलाहरू उहाँकहाँ आए । 2तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले यी सबै कुरा देख्दैनौ ? साँच्‍चै म तिमीहरूलाई भन्दछु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिनेछैन, सबै भत्काइनेछन् ।”

3जब उहाँ जैतून डाँडामा वस्‍नुभयो, चेलाहरू उहाँकहाँ सुटुक्‍कै आए र भने, “हामीलाई भन्‍नुहोस्, यी कुराहरू कहिले हुनेछन् ? तपाईंको आगमन र संसारको अन्तको चिन्ह के हुनेछ ?” 4येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “होसियार रहो, कसैले तिमीहरूलाई नभड्काओस् ।” 5किनकि मेरो नाउँमा धेरै जना आउनेछन् । किनकि तिनीहरूले भन्‍नेछन्, ‘म नै ख्रीष्‍ट हुँ !’ र धेरैलाई भड्काउनेछन् ।

6तिमीहरूले लडाइँ र लडाइँका हल्ला सुन्‍नेछौ । तर तिमीहरू, विचलित नहोओ, किनकि यी कुराहरू हुनैपर्छ; तर अझै अन्त आइसकेको हुँदैन । 7किनकि जातिको विरुद्धमा जाति खडा हुनेछ, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । विभिन्‍न ठाउँमा अनिकाल हुनेछ र भूकम्पहरू जानेछन् । 8तर यी सबै कुरा प्रसव-वेदनाको सुरुवात मात्र हो ।

9तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्पनेछन् र तिमीहरूलाई मार्नेछन् । मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ । 10तब धेरै जनाले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन्, एक अर्कालाई घृणा गर्नेछन् । 11धेरै झुटा अगमवक्‍ता खडा हुनेछन् र धेरै जनालाई बहकाउनेछन् ।

12किनभने अधर्मको वृद्धि हुनेछ; धेरै जनाको प्रेम सेलाउनेछ । 13तर जो अन्तसम्म स्थिर रहन्छ, उसले उद्धार पाउनेछ । 14राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिलाई साक्षीको रूपमा प्रचार गरिनेछ । तब अन्त आउनेछ ।

15त्यसकारण, जब तिमीहरूले दानिएल अगमवक्‍ताले भनेका जस्तै त्यस विनाशकारी घृणित व्यक्‍तिलाई पवित्र स्थानमा उभिएको देख्छौ (पाठकले आफैँ बुझोस), 16जो यहूदियामा छन्, तिनीहरू पहाडहरूतिर भागून्, 17जो घरको छानामाथि छ, ऊ घरबाट कुनै सामान लिन तल नझरोस् । 18र जो खेतमा छ, ऊ आफ्नो खास्टो लिन नफर्कोस् ।

19तर ती दिनमा हाय तिनीहरूलाई जो गर्भवती छन् र जसले शिशुहरूलाई दूध चुसाउँछन् ! 20हिउँदमा वा शबाथको दिनमा तिमीहरू भाग्‍न नपरोस् भनी प्रार्थना गर । 21किनकि त्यस बेला महासङ्कष्‍ट हुनेछ, जुन संसारको सुरुदेखि अहिलेसम्म कहिल्यै भएको छैन, न त कहिल्यै फेरि हुनेछ । 22ती दिनहरू नघटाइएसम्म कुनै शरीर पनि बच्नेछैन । तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन् ।

23तब यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन् !’ वा, ‘ख्रीष्‍ट त्यहाँ छन् !’ भन्छ भने त्यसलाई विश्‍वास नगर । 24किनकि झुटा ख्रीष्‍टहरू र झुटा अगमवक्‍ताहरू आउनेछन् र हुन सके, चुनिएकाहरूलाई समेत बहकाउनलाई ठुला-ठुला चिन्हहरू र चमत्कारहरू देखाउनेछन् । 25हेर, मैले यी अगाडि नै तिमीहरूलाई बताएको छु ।

26त्यसकारण, यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उहाँ उजाड-स्थानमा हुनुहुन्छ’ भनेर भन्छन् भने, उजाड-स्थानतिर नजाओ । वा ‘हेर, उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भनेर भन्छन् भने, त्यसलाई विश्‍वास नगर । 27किनकि जसरी बिजुली पूर्वबाट चम्कन्छ र पश्‍चिमसम्मै त्यसको उज्यालो पुग्दछ, मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ । 28जहाँ सिनो छ, त्यहाँ गिद्धहरू भेला हुनेछन् ।

29तर ती दिनमा सङ्कष्‍ट आए लगत्तै सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; ताराहरू आकाशबाट खस्‍नेछन्, र स्वर्गका शक्‍तिहरू डगमगाउनेछन् ।

30तब मानिसका पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, अनि पृथ्वीका सबै जातिले विलाप गर्नेछन् । तिनीहरूले मानिसका पुत्रलाई आकाशको बादलमा शक्‍ति र ठुलो महिमासाथ आउँदै गरेको देख्‍नेछन् । 31उहाँले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजका साथ पठाउनुहुनेछ, अनि तिनीहरूले उहाँका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गराउनेछन् ।

32अन्जीरको बोटबाट पाठ सिक । जब त्यसका हाँगाहरू कलिला हुन्छन् र पातहरू पलाउँछन्, तब ग्रीष्म ऋतु आउँदै छ भनेर तिमीहरूले थाहा पाउँछौ । 33त्यसरी नै, जब तिमीहरूले पनि यी सबै कुरा देख्छौ, उहाँ नजिकै अर्थात् ढोकाकै छेउमा हुनुहुन्छ भनी तिमीहरूले जान्‍नुपर्छ ।

34साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन । 35स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन् ।

36तर त्यस दिन र घडीको विषयमा कसैलाई पनि थाहा छैन, न त स्वर्गका स्वर्गदूतहरूलाई, न पुत्रलाई, तर पितालाई मात्र थाहा छ ।

37मानिसका पुत्रको आगमन पनि नोआका दिनमा जस्तै हुनेछ । 38किनकि ती दिनहरूमा जलप्रलय आउनुभन्दा अगि नोआ जहाजभित्र नपसुन्जेल तिनीहरू खाँदै र पिउँदै, विवाह गर्दै र विवाह गराउँदै थिए, 39अनि प्रलय आएर तिनीहरू सबैलाई नलगुन्जेलसम्म तिनीहरूलाई केही पनि थाहा थिएन । मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ ।

40तब खेतमा दुई जना हुनेछन्– एक जना लगिनेछ, र अर्को यहीँ छोडिनेछ । 41दुई जना स्‍त्री जाँतो पिँधिरहेका हुनेछन्– एउटी लगिनेछ र अर्की त्यहीँ छोडिनेछ । 42त्यसकारण, तिमीहरू जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनुहुनेछ भन्‍ने कुरा तिमीहरूलाई थाहा छैन ।

43तर यो जान, कि रातको कुन समयमा चोर आउँदै छ भन्‍ने कुरा घरको धनीलाई थाहा भएको भए, ऊ जागा बस्‍ने थियो र चोरलाई उसको घर फोर्न दिने थिएन । 44त्यसकारण, तिमीहरू पनि तयार हुनुपर्छ, किनकि मानिसका पुत्र तिमीहरूले आशा नगरेको बेलामा आउनुहुनेछ ।

45त्यसैले, विश्‍वासयोग्य र बुद्धिमान् नोकर को हो, जसलाई उसको मालिकले आफ्नो घरका मानिसहरूलाई तिनीहरूका खाना ठिक समयमा तिनीहरूलाई दिनलाई नियुक्त गरेको छ ? 46त्यो नोकर धन्य हो, जसलाई उसको मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ । 47साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि मालिकले उसित भएका सबै कुराको जिम्मा उसलाई दिनेछ ।

48तर यदि दुष्‍ट नोकरले त्यसको मनमा, ‘मेरो मालिक ढिला हुनुभएको छ’ भनी भन्दछ, 49अनि उसले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्न थाल्छ, र मतवालाहरूसँग खान्छ र पिउँछ भने, 50त्यस नोकरले आशा नगरेको दिनमा र त्यसलाई थाहा नभएको घडीमा त्यस नोकरको मालिक आउनेछ । त्यसको मालिकले त्यसलाई दुई टुक्रा पारी काट्नेछ र त्यसको दशा ती पाखण्डीहरूको जस्तै हुनेछ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।

51

Copyright information for NepULB